Nidan Media

एकै रातको बाढीले नेप्का तहसनहस: विद्यालयदेखि गोठसम्म बगायो, खाद्य संकटको चिन्ता

हुम्ला । हुम्लाको दुर्गम हिमाली बस्ती नेप्का गाउँ एकै रातको बाढी–पहिरोले तहसनहस बनेको छ । असिना–पानीसहित आएको भीषण बाढीले गाउँको शिक्षा, पशुपालन र खेतीपातीमाथि एकैसाथ प्रहार गर्दा स्थानीय त्रासमा परेका छन् ।

चंखेली गाउँपालिका-५ अन्तर्गत पर्ने नेप्का गाउँमा गएराति आएको बाढीले डाँफे आधारभूत विद्यालय र विद्युत पावर हाउससमेत बगाएको स्थानीयले बताएका छन् । विद्यालय, गोठ, खेतीयोग्य जमिन, विद्युत संरचना तथा पशुचौपायामा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आएको हुम्ला प्रहरी प्रमुख डीएसपी शंकर खड्काले बताएका छन् ।

बाढी–पहिरोले स्थानीय छक्कबहादुर तामाङ र धनसिंह तामाङको गोठ पुरिँदा भेँडाबाख्रासमेत पुरिएको आशंका गरिएको छ । रातिको समयमा घटना भएकाले क्षतिको पूर्ण विवरण आउन नसकेको प्रहरीले जनाएको छ । कोदो खेती हुने अधिकांश जमिन बाढीले बगरमा परिणत गरेको खबर आएको छ ।

लगातारको वर्षासँगै आएको बाढीले गाउँको मुख्य जीविकोपार्जनमै गम्भीर धक्का पुगेको स्थानीयको भनाइ छ । पशुपालन र कोदो खेतीमा निर्भर नेप्कावासी अहिले खाद्य संकटको चिन्तामा परेका छन् । विद्यालय बगेपछि बालबालिकाको पढाइसमेत प्रभावित हुने भएको छ ।

घटनापछि मेल्छाम प्रहरीचौकीबाट प्रहरी टोली आज बिहान घटनास्थलतर्फ प्रस्थान गरेको छ । तर सडक पहुँच नहुँदा उद्धार तथा क्षति विवरण संकलनमा कठिनाइ भइरहेको छ ।

नेप्का अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले विस्तृत विवरण आउन केही समय लाग्ने प्रशासनले जनाएको छ । बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको र स्थानीय तथा प्रहरीमार्फत थप जानकारी संकलन भइरहेको डीएसपी खड्काले बताएका छन् ।

आज बिहान मेल्छाम प्रहरीचौकीबाट हिँडेको प्रहरी टोली दुर्गम पैदलमार्ग पार गर्दै बिहान १० बजेतिर मात्र घटनास्थल पुग्ने अनुमान गरिएको छ । प्रहरी टोली घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने बताइएको छ ।

हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तर–पूर्वमा पर्ने चंखेली गाउँपालिकाका तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गाउँ अझै सडक सञ्जालबाट टाढा छन् । गाउँपालिकाको केन्द्रसम्म पुग्नसमेत जोखिमपूर्ण भीर–पाखा पार गर्दै पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

प्राकृतिक विपत्तिले बारम्बार क्षति व्यहोर्दै आएका यी हिमाली बस्तीमा पूर्वसूचना, सुरक्षित संरचना र तत्काल उद्धार संयन्त्रको अभाव फेरि उजागर भएको छ । नेप्काको यो विपत्तिले दुर्गम गाउँहरूको असुरक्षित यथार्थ पुनः सतहमा ल्याइदिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.