Nidan Media

गरिब होइन गरिबी भगाउने नीति लिन सांसद विकको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद विष्णुमाया विकले सुकुमवासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै कडा आपत्ति जनाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले बनेपा स्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद विकले त्यहाँ एक सय १० जना सुकुमवासी नागरिक अत्यन्त कष्टकर अवस्थामा रहेको बताइन् ।

“एक सय १० जना सुकुमवासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत पाँच जना विद्यार्थी छन्,” उनले भनिन्, “बस्तीमा डोजर चलेदेखि उनीहरूको पढाइ पूर्ण रूपमा ठप्प भएको छ । उनीहरू त्यहाँ बन्दीजस्तै भएर बसेका छन् ।”

उनले सेन्टरमा रहेका थुप्रै दीर्घरोगीले समयमा चिकित्सकको परामर्श र आवश्यक औषधिसमेत पाउन नसकेको उल्लेख गरिन् ।

घरमा डोजर चलेपछि विस्थापित भएका मिलन तामाङले मानसिक सन्तुलन गुमाएको जानकारी दिँदै उनले सरकारसँग तत्काल उपचारको व्यवस्था गर्न माग गरिन् ।

“मिलन तामाङ डोजरले घर भत्काएदेखि मानसिक सन्तुलन गुमाएर बसिरहेका छन्,” उनले भनिन्, “उनको तत्काल उपचार गर्न र विद्यार्थीहरूको पठनपाठन अगाडि बढाउन म सरकारसँग जोडदार माग गर्दछु ।”

सांसद विकले काठमाडौँबाट सुकुमवासी हटाउने सरकारको शैलीप्रति आपत्ति जनाउँदै गरिबलाई दुःख दिने काम बन्द गर्न आग्रह गरिन् ।

“यो सरकारले काठमाडौँबाट गरिब भगाउने नीति लिएको देखिन्छ, जुन सरासर गलत छ,” उनले भनिन्, “सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ ।”

उनले विस्थापित नागरिकहरूको उचित व्यवस्थापन तथा आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारले तत्काल कदम चाल्न माग गरिन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.