Nidan Media

सन्दीप-ललितको स्पीन जादु, नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई सहजै हरायो

काठमाडौँ। शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग-२ मा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस जितसँगै नेपाल तालिकाको शीर्ष पाँचमा उक्लिएको छ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डलाई नेपाली स्पिन आक्रमणले ३९.१ ओभरमा १९४ रनमै समेटेको थियो।

नेपालका स्पिनरहरू सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याटिङलाई धराशायी बनाए। त्यसपछि नेपालले ३८.१ ओभरमा लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो।

जितमा कप्तान रोहित पौडेल र ईशान पाण्डेको अर्धशतक महत्वपूर्ण रह्यो। ५८ रनको ओपनिङ साझेदारीपछि कुशल भुर्तेल र आशिफ शेखबीचको असमझदारीले आशिफ रनआउट भएका थिए। त्यसपछि कुशल पनि एल्बीडब्लू आउट भएपछि नेपालको इनिङ्स केही दबाबमा आएको थियो।

तर कप्तान रोहित पौडेल र ईशान पाण्डेले इनिङ्स सम्हाल्दै खेललाई नियन्त्रणमा लिए। ईशानले ६१ बलमा ५ चौका र २ छक्कासहित आफ्नो करिअरको पहिलो एकदिवसीय अर्धशतक पूरा गरे। उनी ५१ रन बनाएर आउट भए।

कप्तान रोहित पौडेल ७८ बलमा ७४ रन बनाउँदै अविजित रहे। यो उनको एकदिवसीय करिअरको १२औँ अर्धशतक हो।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले ७३ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्। मिचेल इङ्लिसले ५१ रनको योगदान दिएका थिए।

नेपालका बलरमध्ये सन्दीप लामिछानेले ३ विकेट र ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे।

यसै खेलसँगै सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७३ इनिङ्समै १५० विकेट पूरा गर्दै नयाँ विश्व कीर्तिमान बनाएका छन्। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो।

ललित राजवंशीले पनि यसै खेलमार्फत ५० ओडीआई विकेटको उपलब्धि पूरा गरेका छन्।

यो जितपछि नेपालले २२ अङ्क जोड्दै नामिबियासँग समान अङ्क भए पनि रनरेटका आधारमा पाँचौँ स्थानमा उक्लिएको छ। नामिबिया छैटौँ स्थानमा झरेको छ भने क्यानडा सातौँ स्थानमा पुगेको छ। यूएई पुछारमा रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.