काठमाडौँ । चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५.२ रेक्टरस्केलको भूकम्प गएको छ।
स्थानीय प्रशासनका अनुसार भूकम्पका कारण हालसम्म १३ ओटा भवन भत्किएका छन् भने सात हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
भूकम्पमा परी तीन जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार राति १२ः२१ बजे लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको गहिराइ आठ किलोमिटर रहेको बताइएको छ।
मुख्य भूकम्पअघि र त्यसपछि २.२ देखि ३.२ रेक्टरस्केलसम्मका पाँच ओटा पराकम्प पनि महसूस गरिएको थियो।
भूकम्पपछि आपतकालीन सेवा, प्रहरी र दमकल टोली उद्धार तथा खोजी कार्यमा परिचालित भएका छन्। ग्वाङ्सी क्षेत्रीय भूकम्प उद्धार मुख्यालयले बिहान २ बजेदेखि लेभल-३ आपतकालीन प्रतिक्रिया लागू गरेको जनाएको छ।
चीनको राज्य परिषद्अन्तर्गतको भूकम्प उद्धार मुख्यालय तथा आपतकालीन व्यवस्थापन मन्त्रालयले पनि लेभल-४ आपतकालीन प्रतिक्रिया सक्रिय गर्दै प्रभावित क्षेत्रमा विशेष कार्यदल पठाएको छ।
सबैभन्दा बढी क्षति लिउनान जिल्लाको ताइयाङछुन टाउनसिपस्थित साङदेङ गाउँमा भएको बताइएको छ। त्यहाँका केही भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बेपत्ता तीन जना भत्किएका संरचनाभित्र फसेको आशंका गरिएको छ।
भूकम्पपछि ग्वाङ्सी क्षेत्रीय सरकार र लिउझोउ महानगरपालिकाले संयुक्त रूपमा बहु–निकायीय आपतकालीन संयन्त्र परिचालन गरेका छन्। उद्धार कार्यमा प्रहरी, दमकल, यातायात, प्राकृतिक स्रोत, विद्युत् तथा खानेपानी निकायका कर्मचारी सहभागी छन्।
यसैबीच, भूकम्पका कारण ताइयाङछुन क्षेत्र हुँदै जाने लिउझोउ बेल्टवे सडकखण्डमा पहिरो गएको छ। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ।



