Nidan Media

सन्दीपको कीर्तिमानसहित नेपालको बलिङमा दमदार प्रदर्शन, स्कटल्यान्ड १९४ रनमा अलआउट

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा स्कटल्यान्डले घरेलु टोली नेपाललाई १९५ रनको लक्ष्य दिएको छ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भयो।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याक्मुलनले सर्वाधिक ७७ रन बनाए भने माइकल लिस्कले अर्धशतकीय पारी खेले। जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

नेपालका बलरमध्ये ललित राजवंशीले घातक प्रदर्शन गर्दै ४ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट हात पारे।

यसै खेलमा लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने ऐतिहासिक कीर्तिमान बनाएका छन्। उनले दोस्रो विकेट लिने बित्तिकै यो उपलब्धि हासिल गरेका हुन्।

लामिछानेले मात्र ७३ खेलमै १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन्। स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।

नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन्। स्कटल्यान्डले पहिलो खेलमा नेपाललाई डिएलएस नियमअनुसार २ रनले र दोस्रो खेलमा अमेरिकालाई २ रनले पराजित गरेको थियो। नेपालले भने तेस्रो खेलमा अमेरिकालाई ९ विकेटले हराउँदै पुनरागमन गरेको थियो।

विश्वकप ग्लोबल क्वालिफायरमा सिधै पुग्ने सम्भावना जोगाउन तथा ओडीआई मान्यता कायम राख्न नेपालका लागि यो खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। नेपाललाई शीर्ष छमा रहन अब बाँकी सबै खेल जित्नुपर्ने चुनौती छ।

हाल अंक तालिकामा नेपाल २६ खेलमा ९ जित, १५ हार र २ बराबरीसहित २० अंकका साथ सातौँ स्थानमा छ। स्कटल्यान्ड भने ३० खेलमा १६ जितसहित ३८ अंकका साथ शीर्ष स्थानमा रहेको छ। नेपाल अहिले १९५ रनको लक्ष्य पछ्याउने तयारीमा छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.