Nidan Media

पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम प्रणालीको प्रभावका कारण कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा अन्य पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्दै जाने र गर्मी थप बढ्न सक्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा पनि ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.