सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ इट्टाको चाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको प्रखाल भत्किँदा त्यहाँ काम गरिरहेका मजदुरहरू इट्टा र माटोले पुरिएका थिए । स्थानीयले घटनाबारे खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य थालेको थियो ।
उद्धारपछि घाइते तथा पुरिएकाहरूलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा गौडेता नगरपालिका-७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका-९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर निवासी ३५ वर्षीय अंगद कुमारलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा मलंगवा नगरपालिका-७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् ।
तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा जेसीबी प्रयोग गरेर थप खोजी तथा इट्टा पन्छाउने काम गरिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले बताएका छन् ।





