Nidan Media

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद् मात्र नभई संसदीय अभ्यासप्रतिको उदासीनता भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्ता पक्षका सांसदहरूले समेत प्रधानमन्त्रीको अनुपस्थितिलाई सामान्य बनाउने प्रयास गरिरहेको आरोप लगाए ।

उनले भने, ‘देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद् मात्र होइन, संसदीय अभ्यासप्रतिको उदासीनता पनि हो । अझ सत्ता पक्षका माननीय सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिरहनुभएको छ । आज दुई तिहाइ संस्थाको आडमा सांसदहरूलाई कमजोर बनाउन खोजिएको अनुभूति भएको छ । प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन ।’

राईले सदनलाई ‘चिया चौतारी’ जस्तो बनाइएको टिप्पणी गर्दै संसद् गुरुकुल र विश्वविद्यालयजस्तो हुनुपर्ने बताए ।

उनले भने, ‘सदन एउटा चिया चौतारी होइन, जहाँ मन लागे आउने, मन नलागे नआउने र मन नलागे जाने । सदन गुरुकुल, विश्वविद्यालय हुनुपर्छ । तर आज यस्तो परिस्थिति बनेको छ कि स्वयं प्रधानमन्त्रीज्यूले यो गुरुकुल र विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ ।’

प्रधानमन्त्री सदनमा उपस्थित नभएसम्म आफ्नो विरोध जारी रहने चेतावनी पनि उनले दिएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.