सुर्खेत । नेपाली कांग्रेसले आज कर्णाली प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्दैछ । विशेष महाधिवेशनपछि प्रतिनिधिसभा निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यसहित कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित भेला शुरू गर्न लागेको हो ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने भेलालाई पार्टीका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० ओटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहने जनाइएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराईका अनुसार भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनले भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्र अनुशासन र आन्तरिक एकता सुदृढ गर्ने विषयमा केन्द्रित छलफल हुने बताएका छन् ।
कांग्रेसले यो भेलामार्फत केवल निर्वाचन समीक्षा मात्र नभई बदलिँदो राजनीतिक परिवेशमा आफ्नो भूमिकाबारे स्पष्ट सन्देश दिन खोजेको बताएको छ ।
पछिल्ला निर्वाचन परिणाम, जनतामा बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक शक्तिहरूको उदयले परम्परागत दलहरूलाई दबाबमा पारेको अवस्थामा कांग्रेसभित्र आत्मसमीक्षाको आवाज उठ्दै आएको छ।
भेलामा बदलिँदो जनमत र मतदाताको मनोविज्ञानअनुसार पार्टीको नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा नेतृत्व र जनप्रतिनिधिबीच साझा धारणा निर्माणमा विशेष जोड दिइने बताइएको छ । यसले कांग्रेस आगामी निर्वाचनलाई लक्षित गर्दै जनाधार पुनः बलियो बनाउने कांग्रेसको दाबी छ।
कांग्रेसभित्र देखिने गुटगत प्रभाव, नेतृत्वबीचको प्रतिस्पर्धा र कार्यकर्ता तहमा बढ्दो असन्तुष्टिलाई व्यवहारिक रूपमा सम्बोधन गर्न नसके यस्ता भेला केवल भाषण र घोषणामा सीमित हुने गरेको छ । त्यसैले कर्णालीको यो भेला कांग्रेसका लागि शक्ति प्रदर्शनभन्दा बढी आत्मसमीक्षा र सुधारको अवसरका रूपमा हेरिएको छ ।





