Nidan Media

एसइई नतिजा आउँदै, एक महिनामै परिणाम निकाल्ने सरकारको दाबी सफल

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही वैशाख २९ गते सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सरकारले यस वर्षदेखि एसइई नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरेअनुसार उक्त मिति तय गरिएको हो ।

यसअघि करिब तीन महिनामा नतिजा सार्वजनिक हुँदै आएकोमा यसपटक छोटो समयमै नतिजा निकाल्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएको समयमै नतिजा सार्वजनिक हुने बताएका छन् ।

उनका अनुसार “रूजु गर्ने काम सकिएको छ, उत्तरपुस्तिकाको रिभ्यूको काम चलिरहेको छ, त्यो सकिएपछि नतिजा सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्छ”। सम्पूर्ण प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिनेछ ।

यस वर्ष चैत १९ देखि सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सम्पन्न भएको थियो ।

सरकारले नै एक महिनाभित्र नतिजा निकाल्ने निर्णय गरेपछि बोर्डले परीक्षा सकिएको तीन दिनभित्रै कागजात पठाउन निर्देशन दिएको थियो ।

साथै, कापी जाँच पनि सम्बन्धित परीक्षा केन्द्रमै गरिएको हुँदा उत्तरपुस्तिका अन्यत्र पठाउनु नपरेकाले काम छिटो भएको हो ।

मार्कस्लिप र उत्तरपुस्तिका वैशाख ९ भित्र बोर्डमा पुगेको र त्यसपछि कम्प्युटर इन्ट्री लगायतका काम तीव्र गतिमा सम्पन्न गरिएको बताइएको छ ।

बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार समयमै नतिजा निकाल्न कर्मचारीहरूले बिहानदेखि साँझसम्म निरन्तर काम गरिरहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.