पोखरा। मुस्ताङ भ्रमणका लागि उपयुक्त मानिने वसन्तयाममै उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ ।
हिउँदयाम सकिएर गर्मी शुरू भइसकेको समयमा बुधबार वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा करिब एक घण्टाभन्दा बढी हिमपात भएको हो ।
मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरका स्वास्थ्यकर्मी सरोज घर्तीले हिमपातपछि आसपासका डाँडाकाँडा फेरि सेताम्मे बनेको र चिसोसमेत बढेको बताएका छन् । यस वर्ष मुक्तिनाथ क्षेत्रमा आठौँ पटक हिमपात भएको जनाइएको छ ।
वसन्त ऋतुमा पालुवा पलाएर प्रकृति हराभरा हुनुपर्ने समयमा हिमपात हुनु जलवायु परिवर्तनको असर भएको स्थानीयको बुझाइ छ ।
वारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रमेश गुरुङले बेमौसमी हिमपातका कारण मुक्तिनाथ यात्रामा रहेका दर्शनार्थीलाई असहज भएको तथा अन्नबाली र फुल्दै गरेका स्याउका फूलमा क्षति पुग्ने चिन्ता बढेको बताएका छन् ।
स्थानीय खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले वैशाख महिनामै हिमपात हुनु अस्वाभाविक र चिन्ताजनक भएको बताएका छन् ।
उनका अनुसार हिउँदयाममा हुने हिमपातले माटोको चिस्यान कायम राख्न सहयोग गरे पनि बाली लगाउने र फूल फुल्ने समयमा परेको हिउँ तथा वर्षाले कृषि र पर्यटन दुवै क्षेत्रमा नकारात्मक असर पार्ने देखिएको छ ।
स्थानीयले हिउँदयामको बिदाइ र बर्खाको स्वागतस्वरूप ‘धछ्याङ’ पर्व मनाइसकेका बेला फेरि हिमपात भएपछि मौसम चक्रमा आएको परिवर्तनबारे चिन्ता बढेको छ ।




