काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुनको भाउ तीन दिनदेखि लगातार घटेको थियो ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा तीन हजार चार सय र चाँदीको एक सय ३५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, बिहीबार प्रतितोला चार हजार आठ सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको शुक्रबार भाउ बढेर चार हजार नौ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।





