काठमाडौँ । गृह मन्त्रालयले २० जनाको ज्यान जाने गरी रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको छानबिन गर्न उच्च स्तरीय समिति गठन गरेको छ।
मन्त्रालयले बिहीबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो।
गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदी का अनुसार समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ।
समितिको कार्यादेशमा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने, चालक वा प्राविधिक पक्षको लापर्वाही भए-नभएको छानबिन गर्ने तथा भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय सुझाउने विषय समेटिएको छ।
रुकुम पूर्वबाट जलजला तर्फ मेला भर्न गइरहेका तीर्थयात्री बोकेको लु १ ज ४१६७ नम्बरको जिप बिहीबार अपराह्न करिब ३ बजेतिर थवाङ गाउँपालिका-१ सल्यापको कच्ची सडकबाट झण्डै आठ सय मिटर तल खसेको थियो।
भौगोलिक विकटता, कच्ची सडक र जोखिमपूर्ण यात्राका कारण भएको यस दुर्घटनाले देशलाई स्तब्ध बनाएको छ।
गृह मन्त्रालयले समितिको प्रतिवेदनपछि सोही आधारमा थप सुरक्षा रणनीति तय गर्ने र दोषी देखिएमा कानुनी कारबाही अघि बढाइने जनाएको छ।





