काठमाडौँ । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्व बजारमा अझ सशक्त पहिचान बनाउन सकोस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ ।
नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान तथा चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिइन्छ ।
चिया नेपालीको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको पेय पदार्थ मात्र नभई संस्कृति, आतिथ्यता र जीवनशैलीको अभिन्न हिस्सा पनि हो । अधिकांश घरमा दिनको सुरुवात चियाबाट हुने गर्छ भने अतिथिको स्वागतमा पनि चिया प्रमुख माध्यमका रूपमा प्रयोग हुँदै आएको छ ।
इलाम र झापाका हरियाली डाँडाकाँडाबाट सुरु भएको नेपालको चिया यात्रा करिब डेढ शताब्दी लामो छ । अहिले नेपाली चियाले विश्व बजारमा आफ्नै पहिचान र विशिष्ट स्वाद स्थापित गरिसकेको छ ।
प्रत्येक कप चियामा पूर्वी पहाडको शीतलता र मेहनती किसानहरूको पसिना मिसिएको अनुभूति हुने गरेको छ ।
तर, पर्याप्त उत्पादन हुँदाहुँदै पनि बढ्दो आयात, गुणस्तर परीक्षणका लागि अत्याधुनिक प्रयोगशालाको अभाव र बजार व्यवस्थापनमा देखिएका नीतिगत अस्पष्टताले चिया क्षेत्र चुनौतीमा रहेको छ ।
लाखौँ श्रमिक र किसानको जीविकासँग जोडिएको यो क्षेत्रका लागि न्यायोचित मूल्य, प्रविधिको पहुँच र दीर्घकालीन नीति अझै आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
विशेषज्ञका अनुसार उचित नीति, आधुनिक प्रविधि र गुणस्तरमा सुधार गर्न सके नेपाली चियाले विश्व अर्थतन्त्रमा अझ बलियो स्थान बनाउन सक्नेछ ।
राष्ट्रिय चिया दिवसले मौलिक उत्पादनप्रति गर्व गर्न मात्र नभई यसको व्यवसायीकरण, संरक्षण र प्रवर्द्धनमा जिम्मेवार बन्न पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।




