Nidan Media

जनताको विश्वास प्राप्त गरेको सरकार हुनु महत्वपूर्ण कुरा हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुने बताएका छन् ।

लामिछानेले नेताको रूपमा आफू हरेक नागरिकको घरमा पुग्न नसक्ने भए पनि पार्टीको नीति र सरकारका कार्यक्रम भने जनतासम्म पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सरकारले जनताका लागि राम्रो काम गर्ने दाबी गर्दै नागरिकमा विश्वास गर्ने वातावरण बन्नु सकारात्मक पक्ष भएको उल्लेख गरे।

“नेताको रूपमा म जनताको घरमा पुग्न नसकुला, तर नीति र कार्यक्रम हरेकको घरमा पुग्छ,” उनले भनेका छन्, “सरकारले केही न केही राम्रो काम गर्छ भन्ने विश्वास बनिरहेको छ ।”

उनका अनुसार सरकार बन्नु र ढल्नु सामान्य प्रक्रिया भए पनि जनताको विश्वास प्राप्त गरेको सरकार हुनु महत्वपूर्ण कुरा हो ।

विगतमा दुईतिहाइ बहुमतका सरकारहरू बने पनि टिक्न नसकेको सन्दर्भ उल्लेख गर्दै उनले विश्वासको आधार बलियो भए शासन सञ्चालन अझ प्रभावकारी हुने बताएका छन् ।

परिवर्तनको प्रक्रियामा केही कठिनाई आउने स्वीकार गर्दै उनले त्यसको दीर्घकालीन लाभ आगामी पुस्ताले पाउने बताए।

उनले केवल एक चुनावदेखि अर्को चुनावसम्म मात्र नहेरी पुस्तान्तरणको दृष्टिकोणबाट काम गर्नुपर्नेमा जोड दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.