काठमाडौं । शनिबार र आइतबारको निरन्तर वर्षाका कारण बीपी राजमार्ग अझै खुल्न सकेको छैन। डिभिजन सडक कार्यालय भक्तपुरले आइतबार बेलुकासम्म राजमार्ग खुलाउने प्रयास गरे पनि अपराह्न पुनः वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्थायी डाइभर्सनको काम रोक्नुपरेको छ।
सडक डिभिजनका प्रमुख सुमन योगेशका अनुसार वर्षा रोकिएमा सोमबार बिहानदेखि पुनः कामलाई निरन्तरता दिई आवागमन सुचारु गराइनेछ। आइतबार आठ स्थानमा डाइभर्सन बनाउने योजना रहे पनि चारसयबेँसी क्षेत्रमा काम गर्दागर्दै पानी परेपछि प्राविधिक समस्या उत्पन्न भएको हो।
रोशी खोलामा आएको ठूलो बाढीले नमोबुद्धको कटुन्जेदेखि रोशीको मङ्गलटार खण्डका विभिन्न आठ स्थानमा करिब चार किलोमिटर अस्थायी सडकमा क्षति पुर्याएको छ। विशेषगरी चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्ती क्षेत्रमा सडक संरचना बिग्रिएका छन्।
गत चैतमा पनि सोही क्षेत्रको सडक बगाएपछि अस्थायी डाइभर्सन बनाइएको थियो, जसलाई अहिलेको वर्षाले पुनः क्षति पुर्याएको हो। गत साल असोजको बाढीले १८ किलोमिटर सडक बगाएपछि यस खण्डमा खोलाको किनारबाटै अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो।
सडक अवरुद्ध भएपछि धुलिखेल, काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा सवारीसाधनहरू रोकिएका छन्। अलपत्र परेका ६ सयभन्दा बढी यात्रुलाई आइतबार झोलुङ्गेपुलको प्रयोग गरी तेमाल गाउँपालिका हुँदै नमोबुद्धको भकुण्डेसम्म उद्धार गरिएको छ।
उद्धार गरिएका यात्रुहरूलाई स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा भकुण्डेमा खाजा, पानी र फलफूल वितरण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। हाल उक्त क्षतिग्रस्त क्षेत्रमा स्थायी सडक निर्माणको कार्य भइरहे पनि वर्षातको समयमा बारम्बार हुने बाढीले यातायात सेवा प्रभावित भइरहेको छ।




