Nidan Media

शुरू भयो कक्षा १२ को राष्ट्रिय परीक्षा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज सोमबारदेखि देशभरका ७७ ओटै जिल्लामा एकैसाथ शुरू भएको छ।

बिहान ८:०० बजेदेखि शुरू भएको यो परीक्षा आगामी वैशाख २७ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

तथ्याङ्कअनुसार यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थीहरू सहभागी हुँदैछन् ।

जसमा नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिक अर्थात् ग्रेड वृद्धितर्फ ८५ हजार ८३० जना विद्यार्थीहरू रहेका छन्।

विशेषगरी विसं २०७९ र त्यसपछिका शैक्षिक सत्रका विद्यार्थीहरू आंशिक परीक्षामा सामेल भएका छन् भने देशभर एक हजार ५२५ ओटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षालाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बोर्डले कडा सुरक्षा व्यवस्थाका साथै विशेष अनुगमन टोली समेत परिचालन गरेको छ।

परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी र अन्य इलेक्ट्रोनिक उपकरणहरू लैजान पूर्ण रूपमा निषेध गरिएको छ।

परीक्षा नियन्त्रकका अनुसार सबै केन्द्रमा प्रश्नपत्रहरू अनलाइन र भौतिक दुवै माध्यमबाट सुरक्षित रूपमा पठाइएको थियो भने विद्यार्थीहरूलाई परीक्षा शुरू हुनुभन्दा आधा घण्टा अगावै केन्द्रमा प्रवेश गराइएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.