काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा देशभरको मौसममा बदली र वर्षाको अवस्था देखिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका अधिकांश हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मात्र मौसम सफा रहेको छ।
अहिले कोशी, गण्डकी र लुम्बिनीका केही स्थानका साथै बागमती प्रदेशका एक-दुई ठाउँमा मध्यम वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने देखिएको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भने तातो दिन हुने सम्भावना छ।
रातीको समयमा पनि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी लगायतका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।



