काठमाडौँ। नेपाली कांग्रेसले सुकुमवासी समस्याबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्दै दीर्घकालीन र व्यवस्थित समाधान आवश्यक रहेको बताएको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले यो विषय सबै दलको साझा प्रतिबद्धता भएको उल्लेख गर्दै अब कार्यान्वयनको चरणमा गम्भीरता आवश्यक रहेको बताएका छन्।
उनका अनुसार जमिन र आवासको सुविधा प्रत्येक नागरिकको मौलिक अधिकार हो।
वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूलाई व्यवस्थित बसोबासको व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व भएको उनले बताए।
सुकुमवासी को हुन् र को होइनन् भन्ने छुट्याउने काम पनि सरकारले नै गर्नुपर्ने उनले स्पष्ट पारे।
प्रवक्ता चालिसेले समस्या समाधानका क्रममा कानूनी प्रक्रिया पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए।
अदालतको व्याख्यालाई सम्मान गर्दै कानूनको शासनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
उनले सुकुमवासी समस्या समाधान गर्दा बल प्रयोग वा दमनको बाटो अवलम्बन गर्न नहुने चेतावनी दिए।
विकल्प खोजेर समाधान गर्नु नै उपयुक्त हुने र अन्तिम अवस्थाबाहेक कडा कदम चाल्नु उचित नहुने उनले बताए। मानवअधिकारका दृष्टिले पनि बल प्रयोग उचित नभएको उनको तर्क छ।
कांग्रेसले भूमिहीन नागरिकलाई जमिनको अधिकार सुनिश्चित गर्नुपर्नेमा आफ्नो अडान दोहोर्याउँदै राज्यले अभिभावकीय भूमिकामा प्रस्तुत भएर दीर्घकालीन समाधान दिनुपर्ने आवश्यकता औंल्याएको छ।





