काठमाडौँ । केही दिनयता देशभर गर्मी क्रमशः बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज र भोलि तराई क्षेत्रमा अझै तातो दिन बढ्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागसहित केही अन्य क्षेत्रमा समेत अत्यधिक गर्मी रहने सम्भावना रहेको छ।
यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसहित केही अन्य भूभागमा पनि तातो दिन जारी रहने जनाएको छ।
यसैगरी, आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि शनिबार पनि कोशी प्रदेशसहित बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक-दुई ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहने जनाएको छ।




