चितवन । अण्डाको उत्पादनमा आएको कमी र बजारमा बढ्दो मागका कारण अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घ ले फार्म मूल्यका आधारमा आजदेखि लागू हुनेगरी नयाँ दर निर्धारण गरेको हो ।
नयाँ मूल्यअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० भन्दा रु १५ ले बढी हो । त्यस्तै मझौला अण्डाको मूल्य प्रतिक्रेट रु ४१५ तोकिएको छ, जुन अघिल्लो रु ४०० बाट वृद्धि भएको हो ।
सङ्घका अनुसार पछिल्लो समय कुखुरामा देखिएको रोगको प्रकोप र बढ्दो गर्मीका कारण उत्पादनमा कमी आएको छ । साथै नयाँ वर्षको अवसरमा पर्यटकीय गतिविधि बढेसँगै बजारमा अण्डाको माग उल्लेख्य रूपमा बढेको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाह्य आयात घट्दा आपूर्ति थप प्रभावित भएको जनाइएको छ ।
यसअघि गत मंसिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यतिबेला ठूलो अण्डा प्रतिक्रेट रु ५६५ र मझौला अण्डा रु ५५० सम्म कारोबार भएको थियो ।
यद्यपि हालको मूल्यवृद्धि भए पनि किसानहरूले उत्पादन लागत नढाकिएको गुनासो गरेका छन् । एक गोटा अण्डा उत्पादन गर्न करिब रु १९.१२ खर्च पर्ने भएकाले प्रतिक्रेट लागत करिब रु ५७४ पुग्ने अनुमान गरिएको छ, जसअनुसार अहिलेको बजार मूल्य अझै लागतभन्दा तल रहेको उनीहरूको भनाइ छ ।



