काठमाडौँ । भुजुङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री आवेदन खुला गरेको छ ।
कम्पनीले यस चरणमा कुल आठ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
जसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम् ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ ।
यो आईपीओ निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले यसअघि मंसिर ११ गते नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
सोही अनुमतिअन्तर्गत पहिलो चरणमा कम्पनीले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरेको थियो ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।





