Nidan Media

सरकारको चरित्र र कार्यप्रणालीबाट नागरिकमा भय र अनिश्चितता हट्न सकेन : महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले सरकारको चरित्र र कार्यप्रणालीबाट नागरिकमा भय र अनिश्चितता हट्न नसकेको दावी गरेका छन् ।

एक कुराकानीमा नेता बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको भन्दै आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास, भय महसुस गरिरहेको जिकिर गरे ।

राजनीतिक अभियान्ता, कार्यकर्ता, नेता वा शुभचिन्तकले स्वतन्त्ररूपमा सत्यको वकालत गर्नुपर्ने बेलामा डर महसुस गर्नुपर्ने परिस्थिति बनिरहेको उनको भनाइ छ ।

दण्डहीनता फैलन नदिने र विधिको शासन कायम हुनुपर्नेमा जोड दिँदै उनले परिभाषित जिम्मेवारीअनुसार राज्यका अंगहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने खाँचो औँल्याए ।

‘हामी नेपाल संस्था नामक एनजीओका सुधन गुरुङले पछिल्लो समय जेनजीको नाममा सरकारी संयन्त्रलाई खुलेआम रुपमा निर्देशन दिने, महत्वपूर्ण बैठकमा प्रवेश गर्नेलगायतका कार्य गर्दै आएको भन्दै उनले अनाधिकृत व्यक्तिहरूले राज्य संयन्त्रमा खुलेआम प्रवेश गरेर निर्देशन जारी गर्नु लोकतान्त्रिक शासनका लागि अस्वीकार्य भएको बताए ।

नेता बर्तौलाले केही भीड वा व्यक्तिले ६०-७० वर्षको बलिदानीबाट बनेको संविधान च्यात्ने कि जोगाउने भन्ने द्विविधामा पर्ने अवस्था आउन दिनु दुर्भाग्यपूर्ण भएको बताए ।

राज्यका औपचारिक निकायहरूमा अनाधिकृत रूपले पहुँच र निर्देशन दिने घटना लोकतान्त्रिक, लोक कल्याणकारी शासनका लागि उपयुक्त नभएको स्पष्ट पारे ।
यसमा सम्बन्धित मन्त्रालय र नेतृत्वलाई मुख्य दोषी रहेको औंल्याउँदै उनले त्यस्तो अनुशासनहीनता रोक्न आग्रह गरे ।

नेतृत्वले नै कसलाई कुन तहमा भूमिका दिने, कसलाई प्रवेश गराउने र कसको निर्देशन लिने भन्ने निर्णय गर्नुपर्ने उनको भनाइ छ । यसमा गरेको लापरवाहीले देशलाई दिशाहीनतातर्फ लैजान सक्ने उनले चिन्ता व्यक्त गरे ।

सामाजिक सञ्जाल तथा सार्वजनिक मिडियामा देखिएका दृश्यहरूले सुरक्षा संयन्त्र र कर्मचारीहरूको मनोबलमा नकारात्मक प्रभाव परेको उनले बताए । राज्यलाई असल ढंगले कसरी चलाउने, परिभाषित जिम्मेवारी के हुन्छ भन्ने कुरामा स्पष्टता हुनुपर्नेमा जोड दिए ।

राज्यका अंगहरूले निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा जनताको सेवा गर्न पाउने वातावरण सुनिश्चित गर्नु अहिलेको सरकारको कर्तव्य र जिम्मेवारी भएको भन्दै नेता बर्तौलाले सामाजिक पुनर्मिलन र सहिष्णुताका आधारमा देशलाई अगाडि बढाउनुपर्ने र प्रतिशोधको संस्कृति नभई समन्वय र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिए ।

नेपालको समग्र राजनीतिक कोर्स अहिले निणायक संकटको बिन्दुमा पुगेको उनको भनाइ छ । वैधानिक सरकारबाट देश अन्तरिम सरकारको अवस्थामा पुगेको उल्लेख गर्दै उनले यो वर्तमान सरकार गठन प्रक्रिया नै संवैधानिक र कानूनी दृिष्टले कति उपयुक्त हो भन्ने प्रश्न उठ्ने बताए । राजनीतिक ढंगबाट हेर्दा यो असंवैधानिक भएको उनको दाबी छ ।

जेन-जी आन्दोलनका क्रममा भएका निजी लगानीमाथिको हमलाका कारण देशमा ठूला लगानी आउनसक्ने स्थिति कमजोर बनेको उनको आकलन छ ।

यसले बेरोजगारीको समस्या सिर्जना गर्ने भन्दै उनले नेपालमा विस्तारै भित्रिने लागेको ठूला विजनेस चेनहरू समेत अब रोकिने खतरा बढेको बताए । नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि विस्वास गुमाउँदै गएको उनले बताए । यसले नेपालको आर्थिक क्षेत्रमा ठूलो असर गर्ने उनको भनाइ छ ।

उनले बाढीपहिरोको समयमा सरकारले देखाएको तत्परताको भने प्रशंसा गरे । जल तथा मौसम विभागले जारी गरेको मौसमसम्बन्धी सूचनाअनुसार सरकारले अपनाएको सतर्कताका कारण मानवीय क्षति कम भएको उनले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.