काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दल सहमत नै जिकिर गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो बताएका हुन् ।
निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने पार्टीको निष्कर्ष रहेको सापकोटाले उल्लेख गरे ।
नेपाली कांग्रेस, नेकपा एमालेको केन्द्रीय समितिको बैठबाट पनि राजनीतिक दलहरूले आफ्नो धारणा स्पष्ट राख्ने उनले जिकिर गरे ।
अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौती आएको भन्दै उनले यसले रुपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको बताए ।
पार्टीलाई एकतावद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरूसँग एकताका लागि पहल जारी राख्ने पनि बताए ।
उनले दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने जानकारी दिए । समाजवादी मोर्चालाई सक्रिय पार्ने, पार्टी एकताको सम्बन्धका बारेमा पनि छलफल भएको बताए ।
विचार मिल्नेहरूसँग एकताका लागि सकारात्मक छलफल भइरहेको सापकोटाले बताए । निर्वाचनलाई सफल पार्न संसदमा भएका सबै राजनीतिक दलसँग छलफल गरेको र तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।
विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान
देशभर वर्षाबाट ठूलो जनधनको क्षति भएको र त्यसमा पनि कोशी प्रदेशमा धेरै क्षति भएकोप्रति माओवादी पार्टीले सचेत रहेको जनाएको छ ।
नेता सापकोटाका अनुसार देशभर आएको भारी वर्षाले पुर्याएको क्षतिबारे पार्टी बैठकमा गम्भीर समीक्षा भएको र विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको बताए ।