Nidan Media

बालगृहको गेट बाहिर भेटियो नवजात शिशु

पर्सा । हेटौँडामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित ‘हाम्रो घर बालगृह’ को गेट बाहिर आइतबार दिउँसो शिशु भेटिएको हो ।

शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ ।

शिशुको तौल सात सय ५० ग्राम रहेको र अत्यन्तै नाजुक अवस्थामा भेटिएको उपमहानगरपालिकाकी महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेलो जानकारी दिइन् ।

शिशुलाई शुरुआती उपचारका लागि हेटौँडा अस्पताल लगिएको भए पनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक ईन्दिरा डल्लाकोटीले जानकारी दिइन् ।

बालगृहको वार्डेनले गेटबाहिर शिशु फेला परेपछि तत्काल सम्बन्धित निकायलाई खबर गरेका थिए ।

त्यसपछि महिला तथा बालबालिका शाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसीएमसी’ र ‘हाम्रो घर बालगृह’ को संयुक्त पहलमा शिशुलाई अस्पताल पुर्‍याइएको हो ।

शिशु फेला पर्दा उसले लगाएका लुगा तथा साथमा रहेका केही सामग्रीको फोटो सुरक्षित गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

साथै, शिशुको आमा वा आफन्तका रूपमा कुनै जानकारी हुने व्यक्तिलाई महिला, बालबालिका तथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.