काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा भएको विध्वंशमा करिब दुई खर्ब रुपैयाँको क्षति भएको पाइएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभरका सार्वजनिक र निजी भौतिक संरचना ध्वस्त हुँदा करिब दुई खर्वको क्षति भएको अनुमान गरिएको हो ।
सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताए ।
आन्दोलनका क्रममा काठमाडौँको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिमा व्यापक क्षति पुगेको जानकारी दिए ।
‘देशैभरि सरकारी संरचना ध्वस्त भएका छन्, जलेका छन्,’ मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचना हामी आफैंले बनाउने संकल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्माण अभियानलाई देशैभरि निरन्तरता दिनुपर्छ । यो अभियान देश निर्माणको अभियान हो ।’
उनले करिब डेढदेखि दुई खर्ब रुपैयाँ बराबरको संरचना नष्ट भएको अनुमान गरिएको बताए । यस्ता संरचनाको पुनर्निर्माणका लागि श्रमदान तथा आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई ऐक्यवद्धता जनाउन आग्रह गरे ।
सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको जानकारी दिंदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे ।
सरसफाई अभियान र पुनर्निर्माण अभियानलाई देशैभरी जारी राख्नुपर्ने उनले बताए ।
यो अभियान देश बनाउने अभियान भएको भन्दै मन्त्री घिसिङले यो अभियानमा देशमा र विदेशमा रहेका नेपालीहरुले ऐक्यवद्धता जाहेर गरेर अघि बढ्न आग्रह गरे ।
उनले चने, ‘करिब करिब डेढ दुई खर्ब बढीको संरचना ध्वस्त भएका छन् । यी ध्वस्त भएका संरचनालाई हामी नेपालीहरुले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर नेपालीले नै बनाउनुपर्ने काँधमा आएको छ ।’
यसअघि विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा सरकारी भवन, सवारीसाधन तथा अन्य सार्वजनिक सम्पतिमा क्षति पुर्याइएको थियो । सरकारले पुनर्निर्माण र सुधारका लागि आवश्यक पहल शुरू गरिसकेको छ ।





