काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकी छन् ।
शुक्रबार राति जेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीको शपथ खाएकी कार्कीले आइतबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि उनले शहीद स्मारक लैनचोर पुगेर शहीदहरुको सालिकमा माल्यार्पण गरेकी थिइन् । त्यस्तै उनी शहीदगेटमा पुगेरसमेत शहीदको सम्झना गरेकी थिइन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आगजनी भएपछि गृह मन्त्रालय रहेको भवनमा कार्यालय सारेर पदभार ग्रहण गरिन् ।
पदभार ग्रहणसँगै उनले जेनजी आन्दोलनमा मृत्यु भएका प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले रकम उपलव्ध गराउने निर्णय गरेकी छन् ।
सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
यस्तै, घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको उनले बताए ।
जेनजी आन्दोलनमा परी हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ भने अझै करिब एक हजार घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।
प्रधानमन्त्री कार्कीले शनिबार अस्पतालमै पुगेर ती घाइतेको अवस्थाबारे जानकारी लिएकी थिइन् ।