पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको भौतिक संरचनामा आगजनी गर्दा जलेका एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं १० का ४३ वर्षीय विजय लामा छन् ।
लामा जेनजी आन्दोलनमा कास्की प्रहरीको भवनमा आगो लगाउँदै गर्दा जलेर गम्भीर घाइते भएका थिए । सो क्रममा उनको शरीरका ७० प्रतिशत भाग जलेको थियो ।
उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
आन्दोलनकारी कास्कीका अधिकांश सरकारी कार्यालय तोडफोड र आगजनी गरिसकेपछि अन्तिममा साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । बाहिरको मूल गेट तोडफोड गर्दै उनीहरु प्रहरी कार्यालय छिरेका थिए ।
सो क्रममा आन्दोलनकारीले कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनीहरुले प्रहरीका हतियार, कपडा केही बाँकी राखेनन् । एक प्रदर्शनकारी कास्की प्रहरी प्रमुख श्यामबाबु होलियाको पोशाक नै लगाएर सडकमा रमाएकमा थिए ।
प्रहरी कार्यालयभित्रै डोजर लिएर गएका युवामाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका युवकको उपचार भइरहेको बताइन्छ ।