Nidan Media

सुशीला कार्की बनिन् नेपालकाे पहिलो महिला प्रधानमन्त्री, काे हुन् कार्की ?

पाेखरा । सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राति ९ बजे उनको शपथ हुँदैछ । बाँकी काम उनको शपथपछि कार्कीले नै गर्नेछिन् ।

कार्कीको शपथको तयारी शीतल निवासमा हुँदैछ । नेपालको संविधानले राष्ट्राध्यक्ष बनाएसँगै विषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ । आजै सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ । संसद विघटन गर्ने सहमति भएपछिमात्र उनी प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । उनी भ्रष्टाचारको विरोध गर्ने खरो पूर्व प्रधानन्यायाधीश हुन् ।

काे हुन् कार्की ?

 नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको हैसियतमा इतिहास रचिसकेकी सुशीला कार्की अहिले फेरि राष्ट्रिय राजनीति र सत्ता-सन्तुलनको केन्द्रमा आइपुगेकी छन् । कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताका कारण उनलाई प्रधानमन्त्रीका लागि अघि सारिएको चर्चाले देशको ध्यान आकृष्ट गरेको छ ।

२००९ जेठ २५ मा मोरङको विराटनगर-शंखपुरमा जन्मिएकी कार्की सात सन्तानमध्ये जेठी हुन् । बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध राख्ने उनको परिवार प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएको छ । उनका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानीका रूपमा परिचित छन् ।

कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट बीए र भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी हुन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हासिल गरी शैक्षिक यात्रा अघि बढाइन् ।

२०४२ देखि २०४६ सम्म धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरेकी उनले २०३५ सालदेखि वकालत सुरु गरेकी थिइन् । वरिष्ठ अधिवक्ता हुँदै २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेकी कार्की २०६७ मा स्थायी न्यायाधीश नियुक्त भइन् ।

२०७३ सालमा देशकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनले न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको नीति अपनाइन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको ऐतिहासिक फैसलादेखि मन्त्रीसन्त्री जयप्रकाश गुप्तालाई दोषी ठहर गर्नेसम्म, उनका निर्णयहरूले सधैँ बहस र चर्चा बटुल्यो ।

उनलाई राजनीतिक शक्तिहरूले असहज बनाउन खोज्दा पनि उनले निडरतापूर्वक आफ्नो भूमिकामा अडान लिएर चर्चा कमाइन् ।

२०७४ वैशाखमा तत्कालीन सत्ता गठबन्धनले संसदमा महाभियोग प्रस्ताव दर्ता गरे पनि सर्वोच्चको अन्तरिम आदेशले त्यसलाई निष्प्रभावी बनायो । महाभियोग असफल भएपछि उनी पुनः आफ्नो पदमा फर्किइन् ।

कार्कीको निष्पक्षता, दृढता र कानुनी परिपक्वताले आज फेरि उनलाई राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा ल्याएको छ । युवाहरूको रोजाइमा परेकी उनी ‘सिद्धान्तमा अडिग’ नेताको रूपमा प्रस्तुत हुँदैछिन् ।

जङ्गी अड्डादेखि सिंहदरबारसम्म उनको नाम घन्किन थालेपछि मुलुक फेरि इतिहास निर्माणको मुखमा उभिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.