पोखरा । नेपाली कांग्रेस कास्कीले संविधानको रक्षा गर्दै छिटोभन्दा छिटो निकास निकाल्न मागसहित प्रदर्शन गरेको छ ।
जेनजी आन्दोलन पश्चात् देशमा देखिएको अनिश्चिततालाई संविधानमा रहेर निकास निकाल्न कांग्रेसले आग्रह गरेको छ । यसका लागि कास्की कांग्रेसले शुक्रबार सांकेतिक जुलुस प्रदर्शन र विज्ञप्ति निकालेको हो ।
संविधान रक्षार्थ सम्पूर्ण लोकतन्त्रवादी एकतावद्ध भई दवाव दिन कांग्रेसले आग्रह गरिएको युवा नेता एवं महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्रीले जानकारी दिए ।
सबैभन्दा पहिलो देश अनि लोकतन्त्र र त्यसपछि पार्टी भएको जनाउँदै कांग्रेसले यो संविधान नै नरहे देश रहन नसक्ने भन्दै यसका लागि भदौ २८ गरे पनि दिउँसो १ बजे पोखरामा प्रदर्शन गरिने जनाएको छ । उक्त प्रदर्शनमा सबै लोकतन्त्रवादीलाई सहभागिताका लागि कांग्रेसले आग्रह गरेको छ ।
नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने दुविधा नरहेको भन्दै पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलहरुसँग तत्काल संवाद गर्न आवश्यक रहेको पार्टीले जनाएको छ ।
शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्नेमा समेत जोड दिइएको छ ।
पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश, जनता र लोकतन्त्रप्रत प्रतिवद्द नवयुवाले अवश्य पनि यस्तो चाहेका थिएनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भमा समेत आगजनी हुनु गम्भीर छ । धेरैको घर निजी सम्पति, उद्योग व्यावसाय, सञ्चार गृहलगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्दको बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षाैँ र ठूलो लगानी लाग्ने निश्चित छ । यस्तै, पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछौँ । देश अहिले राजनीतिक शून्यता र कानूनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति-सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।’
‘कानूनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिज्यूको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।
पार्टीका कार्यबाहक सभापति रामबाबु भण्डारीको सभापतित्व र केन्द्रीय सदस्य सारदा पौडेलको संयोजकत्वमा प्रदर्शन गरिएको हो ।
कार्यक्रममा जिल्लाका पदाधिकारी क्षेत्रीय सभापति मनोज गुरुङ र राजेन्द्रमणि लामिछाने, महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षेत्री, पालिका सभापति मनपति भण्डारी, वीरेन्द्र गुरुङ, याम गुरुङ, विमल न्यौपाने, तरुण दल, नेविसंघलगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।