काठमाडौँ | जेन-जी अभियन्ता रक्षा बमले राष्ट्रपतिसँग भेट्न बोलाएर प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्ता गर्नुस् भनेपछि आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै उनले यसो गर्दा जेन-जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले प्रधानसेनापतिको प्रस्तावलाई अस्वीकार गर्दै उनीसँगै गएका केही जेन-जीहरू त्यहाँबाट बाहिरिएको बताएकी हुन् ।
रक्षाले लेखेकी छन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भने सकेपछि जेन-जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जे-जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ ।’
उनले आफूहरू मंगलबार पनि प्रधान सेनापतिलाई भेट्न कुनै माग लिएर नगएको सामाजिक सञ्जालमै लेखेकी छन् ।
उनले लेखेकी छन्, ‘हामी न हिजो वार्तामा थियौँ, न आज छौँ। हिजो पनि हामी कुनै मागहरू लिएर Army Chief लाई भेट्न गएका थिएनौं।हिजो हाम्रो स्पष्ट भनाइ यही थियो -हामीलाई हाम्रो मागहरू तयार गर्न समय चाहिन्छ। हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन-जेड प्रदर्शनकारीका प्रतिनिधि मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौ, सबैसँग सम्पर्क गर्नेछौँ र केही दिनभित्र राष्ट्रपतिसहित Army Chief समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौँ। जेन जीका माग, राज्यको आगामी बाटो जेन-जीले तय गर्नुपर्छ भन्ने हाम्रो मुख्य अडान थियो। आज पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन-जेड समूहसँग छलफल गर्न गएका थियौँ। तर आन्दोलनको बेसिक नम्सविरूद्ध छलफल अघि बढाईन थालेपछि म र केही साथीहरू तत्काल बाहिरियौँ। जेनजी आन्दोलनको कुनै लिडर छैन यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजी कै समूहले लिड गरेको हो । तसर्थ अहिले वार्तामा रहेका जेन-जेड साथीहरूको धारणा वा अडानबारे म पूर्ण रूपमा अनविज्ञ छु।धन्यवाद !’