पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले शान्ति-सुरक्षा कायम राख्न सर्वसाधारणलाई सहयोग गर्न विशेष आग्रह गरेको छ ।
शान्ति सुरक्षामा देखिएको चुनौतीलाई मध्यनजर गर्दै गएराति १०ः०० बजेदेखि नेपाल सेनाको सहयोगमा कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन र भीडभाड नगर्न आग्रह गरिएको छ ।
अत्यावश्यक कार्यबाहेक बाहिर निस्किने व्यक्तिमाथि कानूनी कारबाही हुने चेतावनी प्रशासनले दिएको छ ।
साथै, तोडफोड, आगजनी वा अराजक गतिविधिमा संलग्न हुने जोकोहीमाथि कठोर कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
सुरक्षाको अवस्थालाई सामान्य बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सेनालाई उच्च सतर्कतासहित परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।