Nidan Media

एभरेस्ट महिला भलिबल लिगः पोखरा तेस्राे खेलमा पनि पराजित

पोखरा । पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३-२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।

पहिलो सेट १३-२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो । पोखराले दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१० ले आफ्नो पक्षमा पार्‍याे, तर निकै प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २८-२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो ।

पाँचौँ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५-१० को सहज जित दर्ता गर्‍याे । पहिलो जितसँगै लुम्बिनीले दुई अङ्क जोडेको छ । यसैगरी तीन खेल खेलेको पोखरा जितविहीन छ । पोखराले एक अङ्क जोडेको छ ।

लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३-१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ ।

पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेस युनाइटेडसँग पराजित भएको थियो । यसअघि,  आइतबारकाे पहिलो खेलमा काठमाडौँ स्पाइकर्सले मधेस युनाइटेडलाई ३-१ को सेटले पराजित गरेको थियो ।

पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौँले दोस्रो सेट २३-२५ ले मधेसलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौँले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौँले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले जित्यो ।

लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यशविश र काठमाडौँ स्पाइकर्सबीच हुनेछ । दोस्रो तथा अन्तिम खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म सञ्चालन हुनेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.