मुस्ताङमा यस वर्ष दसैँ लक्षित १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने प्रक्षेपण गरिएको छ। गत वर्षको तुलनामा यस पटक दोब्बर भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए।
कार्यालयका अनुसार, गत वर्ष मुस्ताङमा आठ हजार भेडाच्याङ्ग्रा बाहिरिएका थिए भने डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी च्याङ्ग्रा निकासी भएको थियो। सो आधारमा गत वर्ष मुस्ताङ र डोल्पाबाट गरी करिब १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बजारमा पठाइएको थियो। तर यस वर्ष मुस्ताङमा उत्पादन भएका १५ हजार र डोल्पाबाट आउने अनुमानित पाँच हजार भेडाच्याङ्ग्रासहित करिब २० हजार भेडाच्याङ्ग्रा जोमसोम हुँदै म्याग्दी र अन्य जिल्ला निकासी हुने अनुमान गरिएको छ।
भेटेरिनरी अस्पतालका तथ्याङ्कअनुसार, हाल मुस्ताङका पाँचवटै पालिकामा ६४ हजार ४०८ भेडाच्याङ्ग्रा र बाख्रा छन्। यसमध्ये ५६ हजार ४०५ च्याङ्ग्रा, पाँच हजार ४२६ भेडा र दुई हजार ५७७ बाख्रा रहेका छन्। सबैभन्दा बढी च्याङ्ग्रापालन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छ, जहाँ २० हजार ६१६ च्याङ्ग्रा र एक हजार ३०८ भेडा रहेका छन्। यसै क्षेत्रबाट पाँच हजार भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ।
डा. अर्यालका अनुसार, निकासी हुने भेडाच्याङ्ग्रा मुख्यत: चार वर्षभन्दा बढी उमेरका वयस्क हुनेछन्, जुन दसैँ र तिहार पर्वको समयमा बेँसीतर्फ पठाइन्छ। गत वर्ष मुस्ताङका च्याङ्ग्रा प्रतिटाउको २८ हजारदेखि ३५ हजार रुपैयाँमा बिक्री भएका थिए।
भेँडाच्याङ्ग्रा आयातबारे मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईले नेपाल–चीन कोरलानाका नाकाबाट च्याङ्ग्राका पाठापाठी भित्रिएको बताए। उनका अनुसार, व्यापारीले चीनबाट पशु क्वारेनटाइन रिपोर्ट ल्याएमा तिब्बतबाट च्याङ्ग्रा ल्याउन कुनै समस्या छैन। भन्सार कार्यालयले पालिकाको सहयोगमा स्वास्थ्य परीक्षण गरी वैधता दिने गरिएको छ।
“व्यापारीले आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ,” राईले भने, “भेँडाच्याङ्ग्रा वयस्क रूपमा आयात गरिएको छैन, मासुका लागि नेपालमै उत्पादन हुने च्याङ्ग्राको माग बढेको छ।”