मुस्ताङ — बर्खायाममा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
उक्त रुटमा नियमित उडान भर्दै आएको तारा एयरलाइन्सको ट्वीनअट्टर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिएका छन् । उनका अनुसार तारा एयरलाइन्सले आगामी सेप्टेम्बरको पहिलो साताबाट पुनः उडान सञ्चालन गर्नेछ ।
’हवाई यात्रु घटेको र मौसम प्रतिकूल भएको कारणले तारा एयरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ सिजन सुरु भएपछि उडान फेरि सुरु हुन्छ,’ इन्चार्ज लालचनले बताए ।
समिट एयरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि दुई महिनाका लागि उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।