चलचित्र ‘बलिदान’ को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । आगामी दसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रका दुई पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् ।
पहिलो पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन् । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको छ, जसको लागि उनले अधिक मेहनत गरेका छन् ।
दोस्रो पोस्टरमा सौगात मल्ल भिडको अगाडि उभिएका छन् । पछाडि मशाल बोकेका मानिसहरूको उपस्थितिले फिल्ममा विद्रोह, क्रान्ति र जनताको आवाज उठाउने भाव प्रकट गर्छ।
आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।