Nidan Media

खुल्याे ‘वसन्त’ को टिकट बुकिङ, हलले कति दिए शो?

चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो सिनेमालाई उच्च शो दिने देखिएको छ ।

देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले सिनेमाको ३ दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । हामीले यो समाचार तयार पार्दासम्म मोफसलमा इटहरी बाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ ।

प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’लाई आइएनआइ सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरी १६ सो दिएको छ। वान सिनेमाजले आइप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० सो दिएको छ। त्यस्तै एफक्युबले ५ शो, बिग मुभिजले ५ शो, बिएसआर सिनेमाजले ४ शो दिएको छ।

अझै सिनेमा रिलिज हुने समय एक दिन बाँकी रहेको हुँदा बिहीबार साँझसम्म पनि शोहरु थपिने क्रम जारी रहनेछ ।सिनेमालाई अग्रीम टिकट बुकिङका क्रममा हलले उपलब्ध गराएको शो ट्रेण्ड हेर्दा सिनेमा शुक्रबार ४ सय हाराहारी शोसहित प्रदर्शनमा आउने देखिन्छ ।

नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

यसैबीच, सिनेमा ‘वसन्त’ सेन्सर पास भएको छ । यो सिनेमालाई केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएसँगै हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.