नेपाल र भारतबीच अन्तरदेशीय विद्युत् व्यापारलाई थप प्रभावकारी बनाउन उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ। नेपालले सन् २०३५ सम्म २८,५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा दुई देशबीच ऊर्जा व्यापारलाई सहज बनाउन नयाँ प्रसारण लाइन निर्माण गरिनेछ।
ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकमा निजगढ–मोतीहारी र कोहलपुर–लखनउबीच ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने तथा हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता विस्तार गर्ने निर्णय भएको छ। यसअघि सहमति भइसकेका इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली प्रसारण लाइन संयुक्त उपक्रममार्फत निर्माण गरिनेछ।
नेपाल सरकारले १५,००० मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ, जसअनुसार १०,००० मेगावाट भारत र ५,००० मेगावाट बङ्गलादेशलाई निर्यात गरिनेछ। वर्षायाममा नेपालले भारतलाई बिजुली निर्यात गरिरहेको छ भने ‘टोकन’का रूपमा बङ्गलादेशलाई पनि निर्यात सुरु भइसकेको छ।
यस सहमतिसँगै नेपालका जलविद्युत् परियोजनाबाट उत्पादन भएको बिजुली क्षेत्रीय बजारमा बिक्री गर्न थप अवसर सिर्जना हुने र सरकारको दीर्घकालीन ऊर्जा व्यापार रणनीति सफल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।