Nidan Media

हमासले थप तीन जना बन्धक रिहा गर्‍यो

युद्धविराम सम्झौता अन्तर्गत हमासले तेस्रो साता थप तीन जना बन्धकलाई शनिबार रिहा गरेको छ। रिहा भएका तीनै जना पुरुष इसराइली नागरिक हुन्। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ५६ वर्षीय चाड बेन एमी, ५२ वर्षीय एली शराबी र ३४ वर्षीय ओर लेभीलाई हमासले बन्धकमुक्त गरेको हो।

बन्धकमुक्त भएका तीन जनाको अवस्था अत्यन्तै नाजुक रहेको इसराइली अधिकारीहरूले जनाएका छन्। इसराइली पक्षले सार्वजनिक गरेका तस्बिर र भिडिओमा उनीहरूको शारीरिक अवस्था निकै कमजोर देखिएको बताउँदै हमासको आलोचना गरिएको छ।

इसराइलका एक मध्यस्थकर्ताले यी बन्धकहरूको अवस्था हेर्दा दोस्रो विश्वयुद्धको नाजी यातना शिविरबाट बाँचेकाहरूको सम्झना गराएको बताएका छन्। उनले भने, ‘आज तीन बन्धकको अवस्था हेर्दा हामी सबैलाई बाँकी बन्धकहरूको शीघ्र रिहाईको आवश्यकताबारे सचेत बनाएको छ।’

यसैबीच, हमासका बन्धकका परिवारहरूले इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले युद्धविराम वार्ता तिब्र बनाउन आवश्यक पहल नगरेको आरोप लगाएका छन्। उनी वासिङ्टन भ्रमण लम्ब्याउँदै बसेको भन्दै परिवारका सदस्यहरूले आलोचना गरेका छन्।

बन्धकको अदला-बदलीको सम्झौताअनुसार, हमासले बन्धक छाडेपछि इसराइलले १८३ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। माघ ५ बाट सुरू भएको युद्धविराम अन्तर्गत अहिलेसम्म हमासले २१ जना बन्धकलाई रिहा गरिसकेको छ। पहिलो चरणको ४२ दिने युद्धविराम सम्झौताअनुसार ३३ जना बन्धकहरू रिहा हुने सहमति थियो।

हाल दोस्रो चरणको युद्धविराम प्रक्रिया अघि नबढेको देखिन्छ। हमासको नियन्त्रणमा रहेका अन्य बन्धकहरूमध्ये एक नेपाली नागरिक विपिन जोशी पनि रहेको पुष्टि भएको छ। उनको अवस्था बारे थप जानकारी आउन बाँकी छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.