Nidan Media

अदालतमा उपस्थित भएसँगै लामिछानेको थुनछेक बहस शुरु हुने

 

रूपन्देही । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा बिहीबार शुरु हुने भएको छ।

अदालतमा उपस्थित भएसँगै लामिछानेको थुनछेक बहस शुरु हुने अदालतका श्रेस्तेदार एवं उपसचिव यज्ञमूर्ति ज्ञवालीले जानकारी दिएका हुन्।

लामिछानेका तर्फबाट बहस गर्न काठमाडौंबाट गएकासहित १२ जनाभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेश गरेका छन्। त्यसैगरी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन्।

थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।

बयानका लागि मंगलबार भैरहवा पुगेका लामिछाने बुधबार कार्यालय खुल्नेवित्तिकै अदालतमा उपस्थित भएका थिए। लामिछानेको रूपन्देही जिल्ला अदालतमा बुधबार नै बयान सकिएको थियो। बयान सकिएसँगै बिहीबार १० बजे पुनः उपस्थित गराउने शर्तमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई पत्नी निकिता पौडेल र उनका कानून व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो।

लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। लामिछानेविरुद्ध व्यक्तिगत दुई करोड रुपैयाँ बिगो दाबी छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.