अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणका क्रममा महिला र पुरुष गरी दुई लिङ्गलाई मात्र मान्यता दिने गरी घोषणा गरेको कार्यकारी आदेश विवादित बनेको छ ।
सोमबार उनले दर्जनौं अन्य आदेशसँगै अमेरिकामा दुई लिङ्गलाई मात्र मान्यता दिने घोषणा गरेका थिए ।
ट्रम्पले यसलाई जैविक सत्यलाई पुनःस्थापित गर्ने र चरमपन्थी लैङ्गिक विचारधाराबाट महिलाको संरक्षण गर्ने उद्देश्यले जारी गरिएको प्रमुख नीतिगत कदम रहेको दाबी गरेका छन् ।
यस आदेशअनुसार संघीय सरकारका सबै निकायले लिङ्गको परिभाषालाई जन्म प्रमाणपत्र र अन्य कानूनी कागजातमा आधारित जैविक लिङ्गअनुसार सीमित गर्नुपर्नेछ ।
यसले सरकारी नीति, शिक्षा प्रणाली, खेलकुद र चिकित्सा सेवामा उल्लेखनीय प्रभाव पार्ने अनुमान गरिएको छ । यस आदेशबारे अमेरिकाभर चर्चा चलिरहेको छ ।
परम्परागत मूल्यमा विश्वास गर्ने समूहले यसलाई ‘जैविक वास्तविकताको संरक्षण’ भन्दै समर्थन गरेका छन् ।
त्यस्तै, नागरिक अधिकार समूह र एलजीबीटीक्यू प्लस समुदायका प्रतिनिधिहरूले यसलाई लैङ्गिक अल्पसंख्यकमाथि अन्यायपूर्ण आक्रमण भन्दै आलोचना गरेका छन् ।
शपथ ग्रहणका क्रममा ट्रम्पले सम्बोधन गर्दै भनेका थिए, ‘यो आदेश हाम्रो संविधानको मूलभूत मान्यता र जैविक सत्यको पुनर्स्थापनाका लागि हो । यसले चरमपन्थी विचारधाराबाट महिला र बालिकालाई सुरक्षित राख्छ ।’
तर, एलजीबीटीक्यूआई प्लसकी अधिकारकर्मी सारा जोन्सले भनेकी छन्, ‘यो निर्णय लैङ्गिक अल्पसंख्यकमाथि भएको हमला हो । यसले लाखौं व्यक्तिको पहिचानलाई अस्वीकार गरेर उनीहरूको अधिकार खोस्ने काम गरेको छ । हामी यसविरुद्ध अदालतमा जानेछौं ।’
त्यस्तै, ट्रम्पका समर्थक जेम्स विल्सनले यसको समर्थन गरेका छन् । ‘यो आदेश धेरै समयदेखि आवश्यक थियो । यो जैविक वास्तविकता र समाजको स्थिरता सुनिश्चित गर्न महत्त्वपूर्ण छ । राष्ट्रपति ट्रम्पको यस कदमको म पूर्ण समर्थन गर्छु ।’
यस्तो आदेशले लैङ्गिक अल्पसंख्यकको अधिकार र संरक्षणमा गहिरो असर पर्ने चर्चा अमेरिकी सञ्चारमाध्यमहरूले गरेका छन् ।
साथै, खेलकुद र सार्वजनिक जीवनका अन्य क्षेत्रमा समावेश हुनका लागि संघर्षरत समुदायलाई यसले थप चुनौती दिने बताइएको छ ।