पोखरा । टाइगर ग्रुपअफ पोखराको आयोजनामा यो पटक पाँचौं संस्करणको भलिवल प्रतियोगिता हुन लागेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा माघ १२ गतेदेखि यो प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको मिति नजिकिँएसँगै टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्ने टुंगो लागेको छ । प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीका अनुसार यस वर्षको प्रतियोगितामा दुईवटा विदेशीसहित महिला र पुरुष विधामा कुल १२ वटा टोलीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६÷६ टोलीले सहभागिता जनाउने भएका छन् । पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउनेछन् ।
महिलातर्फ विदेशी क्लब युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डसहित नेपाल एपिएफ क्लब, टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर गु्रप अफ पोखरा नेपाल सहभागी हुदैछन् ।
आयोजक टाइगर गु्रपले यो पटक पुरस्कार राशिमा ३० हजार रुपैयाँ बृद्धि गरेको छ । यो संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेतालाई समान दुई लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने छ भने तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार सात सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिनेछ ।