पोखरा । आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई खुसीको खबर छ । प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा १ दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने छन् ।
सो पुरस्कारवापत्को रकम सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गरेका हुन् । सो सम्बन्धमा आयोजक सहारा क्लब पोखरामा आयोजित समारोहमा क्लब अध्यक्ष केशवराज बराल र श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक एवं क्लब वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत सम्मानसमेत गरेको थियो । माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । तीमध्ये १० टिम टुंगो लागिसकेको छ । जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखरा अनुबन्ध भएका हुन् ।