काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १८.६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०– ०८१ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१–०८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर)मा कुल तीन लाख २५ हजार ८०९ जनाले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०–०८१ को सोही अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा थप ५१ हजार २९२ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारीमा जानेहरूलाई अन्तिम श्रम स्वीकृति विभागले दिने गर्छ । गत मंसिर महिनामा मात्र विभागले ८४ हजार २२६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।