पोखरा । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
डिसेम्बर महिना सुरु हुँदै इसाई अनुयायीहरू क्रिसमसका लागि तयारीमा जुट्ने गर्दछन् । यस पर्वमा मानिसहरू आफ्नो घर सुन्दर तरिकाले सजाउने र मण्डली (चर्च) मा गएर प्रभु येसुको यादमा प्रार्थना गर्ने अनि मैन बत्ती बाल्ने गर्छन् । घर र चर्चमा क्रिसमस ट्री सजाएर केक काट्ने चलन यस पर्वमा महत्त्वपूर्ण मानिन्छ । सका साथै क्रिसमसका दिनमा बालबालिकाहरू सान्ता क्लाजको प्रतीक्षामा बस्ने र उपहार लिने गर्दछन् । यसको मान्यता के छ भने रातो कपडा र सेतो दाह्रीमा सान्ता क्लाज स्वर्गबाट आउने र मानिसहरूलाई उपहार दिएर जाने चलन विश्वासीहरू भित्र रहेको छ । यस दिन अन्य धर्मका मानिसहरू पनि मैन बत्ती जलाएर प्रार्थना गर्ने गर्दछन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको छ । देशको मुख्य सहरहरूमा क्रिसमस महोत्सवको आयोजना गर्ने, आफ्नो घर सफा राख्ने, सपिङ गर्ने, चर्च जाने र प्रार्थना गर्ने, केक काट्ने, साथी भाइसँग भेटघाट गरेर उपहार र शुभकामना साटासाट गर्ने, क्रिसमस ट्रीले चर्च घर र मल सजाउने, क्यारोल खेल्ने, उपहार लिने, सार्वजनिक स्थलमा क्रिसमस सम्बन्धित सुसमाचारीय कार्यक्रम गर्ने, नाचगान गर्ने आदि नेपाली क्रिसमस पर्वको मुख्य विशेषता हुन् ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल ख्रिष्टियन महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।