पोखरा । ‘स्वस्थ्य, वातावरण तथा पर्यटकका लागि साइकल’ भन्ने मूल नाराका साथ यो पटक पनि ‘सातौं टुर दि पोखरा’ साइकल र्याली हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा पुस १३ गते हुने साइकल र्याली पोखरा बजारको २४.५ किमी क्षेत्रको यात्रा रहने छ ।
साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले साइकलका गतिविधि गरेर पर्यटन क्षेत्रमा टेवा पुर्याउन खोजको बताए । उनका अनुसार साइकल सिटी पोखराले स्थापनाकालदेखि साइकल सम्बन्धी गतिविधि गर्दै आएको छ । ‘‘पोखराका प्रत्येक पर्यटकीय गन्तव्यमा साइकल स्ट्याण्ड निर्माण लगायत साइकल सिटी पोखराको सक्रियतामा पोखरा जिरो किमी देखि महेन्द्रपुलसम्म ३ किमी नेपाल मै पहिलो साइकल लेन निर्माण जस्ता सामाजिक कार्य गर्दै आएका छौं,’’ श्रेष्ठले भने । पोखरालाई साइकल हवको रुपमा विकास गरी पर्यटन क्षेत्रमा टेवा दिन पोखरा महानगरपालिका र एडिबीले झन्डै १५० किमी को तालदेखि तालसम्म साइकल मार्ग र आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न छलफल अघि बढेको उनले जानकारी दिए ।
साइकल सिटी पोखराले पर्यटन क्षेत्रमा उपलब्धी हासिल गर्नको लागि सन् २०१५ मा ‘स्वस्थ मुटुको लागि साइक्लिङ्ग’, २०१६ मा ‘स्वस्थ मुटु सबैको लागि जहिले पनि जहाँ पनि’, २०१७ मा ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’, २०१८ र २०१९ मा मा ‘बोसो पगालौं, इन्धन बचाऔं ’, २०२२ मा ‘थोपा थोपा इन्धन बचाउँ’ भन्ने नाराका साथ कार्यक्रम गर्दै आएको छ ।
आठौं संस्करणको साइकल र्याली पोखराको सिटी हलबाट सुरु भइ पोखराका विभिन्न सहर घुमेर पुन सिटी हलमै आएर टुङ्गिने साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार र्यालीमा सहभागी हुनेले एक हजार शुल्क तिर्नुपर्ने हुन्छ, त्यो बापत साइकल ज्याकेट पाइनेछ । उक्त र्याली नेपालका विभिन्न जिल्लाबाट सहभागी हुने उनले जानकारी दिए । ‘‘नेपालबाहिर भारतबाट पनि सहभागी हुन आउने कुरा भइरहेको छ ।