पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले पर्यटकीय विकासको सम्भावनालाई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा महानगरपालिका – १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासँगै रहेको बताइन् ।
‘‘यहाँहरुले दुईदुई पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसँगै छु, यहाँहरु सबैको माया र सद्भावले अगाडी बढिरहेको छुु । सेती नदी माथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ ’’ उनले भनिन् ।
यस क्षेत्रको विकासका लागि स्थानीयले तयार गरेको परियोजनालाई बजेटको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने मन्त्री भट्टराईले जनाइन् । कोटिहोमका संकल्पकर्ता शोभाकान्त ढकालले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान बनाउन सकिने अथाह सम्भावन रहेको जानकारी गराए । सरकारी स्तरबाट बजेटको व्यवस्था गर्न सके ढुङगेसाँघु, पट्नेरी सेती नदि माथी रहेको गुफामा पर्यटक जानको लागि आवश्यक संरचना बनाउने योजना सुनाए । २ करोड रुपैयाँ लगानी गर्न सके यस क्षेत्रमा सयौँ पर्यटक आउने र पर्याप्त आम्दानी समेत गर्न सकिने संभावना रहेको उनले जानकारी गराए ।
धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको संकल्पकर्ता ढकालले मन्त्री भट्टराईलाई अवगत गराए ।