पोखरा । गण्डकी प्रदेशमा पनि सत्तारुढ दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको ६ सदस्यीय संयन्त्र गठन गरिएको हो ।
समितिमा कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्मा, मुख्यमन्त्री तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र महामन्त्री विष्णुप्रसाद लामिछाने सदस्य छन् । एमालेबाट प्रदेश इन्चार्ज किरण गुरुङ, पूर्वमुख्यमन्त्री खगराज अधिकारी र प्रदेश अध्यक्ष नवराज शर्मा सदस्य छन् ।
संयन्त्रको बैठकले संयन्त्रको बैठकको अध्यक्षता सहमतिका आधारमा आलोपालो गर्ने निर्णय गरेको छ । यस्तै, बैठकको व्यवस्थापन पनि अध्यक्षता गर्ने दलले नै गर्नुपर्ने छ । ७ बुँदे निर्णयमा प्रदेशका सबै जिल्लामा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ भने संयुक्त सरकारको कामलाई जनतासम्म पुर्याउने, सरकारका काममा सुझाव दिने र सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेशभित्रका स्थानीय तहमा विवाद आएमा दुई दल बसेर तत्काल समाधान गर्ने, सहकार्यलाई अझै प्रभावकारी बनाउन निर्देशन दिने निर्णय गरिएको छ । संयन्त्रले हाल भइरहेका प्रदर्शनको ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ,’ संयन्त्रले भनेको छ, ‘यस्ता गतिविधिहरूलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्वयनको लागि आवश्यक सहयोग गर्न सबै पक्ष सँग हार्दिक अपिल गर्ने निर्णय गरियो ।’
बैठकको अध्यक्षता कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्मा गरेका थिए । प्रदेशभित्रका विकास निर्माणमा दुई दलको साझा धारणा बनाएर अघि बढ्ने र आगामी बैठकको संयोजक एमालेले गर्ने निर्णय गरेको एमाले इन्चार्ज किरण गुरुङले जानकारी दिए ।