पोखरा ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानले आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी लोपोन्मुख नाच प्रदर्शन गर्ने भएको छ ।
आगामी मंसिरमा १० दिनसम्म चल्ने गरी नाच तयारी गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । यो कार्यक्रम हरेक दिन बेलुका २ घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुति राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन् ।
प्रतिष्ठानले पुस पहिलो हप्ता गण्डकी प्रदेशका मौलिक लोकबाजाहरूको प्रस्तुति ‘अर्केष्ट्रा’ प्रस्तुत गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । ४० जना वाद्यवादक विभिन्न जातजातिको मौलिक धुन र गण्डकी प्रदेशका कीर्तिशेष स्रष्टाहरूको चर्चित लोक गीतका धुनहरू एउटै स्टेजमा प्रस्तुत गर्नेछन् । बाजाले दिने धुन कति महत्वपूर्ण छ भन्ने बारेमा नयाँ पुस्तालाई जानकारी गराउन यो कार्यक्रम गर्न लागिएको हो ।
प्रतिष्ठानले गण्डकी प्रदेशमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्ने गरेको छ । आजसम्म ४२ वटा वाङ्मयिक संस्थासँग सहकार्य गरेको उनले खुलाए ।
गत वर्ष जस्तै यो वर्ष पनि प्रादेशिक चित्रकला प्रदर्शनी हुने प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानले स्रष्टाको क्याटगोरी आधारमा परिचयपत्र वितरण गर्ने भएको छ । त्यो परिचयपत्र देखाएर स्रष्टाले विभिन्न ठाउँमा छुट व्यवस्था गर्न खोजिएको छ ।यो वर्ष १५ जना स्रष्टाको बायोग्राफीसमेत तयार पारिएको जनाइएको छ ।