पोखरा ।
रवि लामिछानेका समर्थकहरुले झुटा आरोप लगाई सामाजिक सन्जाल लगायतमा प्रचार गरेको भन्दै पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले आपत्ति जनाएका छन् । सहकारी बचत पीडित संघर्ष समितिले विज्ञप्ति निकालेर सहकारी पीडितको विषयमा कुनै ठोस पहल कदम नहुँदा दुखित भएको उल्लेख गरेका छन् ।
‘‘पीडितको समस्या र पीडाको बारेमा बयान गर्न अब कुनै विषयनै बाँकी छैन, तर केहि दिन पहिला गोर्खा मिडिया प्रालिद्वारा प्रतिवादी बनेका रवि लामिछानेका विषयमा भने हामी सहकारी पीडितमाथि सडकदेखि सामाजिक सञ्जाल फेसबुकसम्म विभिन्न किसिमका झुटा कुरा र झुटा लान्छाना लगाई पीडित कै चरित्रहत्या गर्ने प्रयास गरिएको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा न्यायालय लाई प्रभाव पार्ने, पीडित बचतकर्ताबीच नै एक अपसमा अविश्वासको वातावरण सिर्जना गर्ने र पीडित संघर्ष तथा तदर्थ समितिसँग नै अन्य बचतकर्ताहरुको विश्वास कम होस् भन्ने हेतुका कारण केहिदिन यता प्रहरी प्रशासन, मुख्यमन्त्री, हाम्रो संघर्ष समितिका अध्यक्ष ज्यू र केही अन्य बचतकर्ता सहितका नाम समावेश गरी बनाएको झुटा समाचार र लगाएको झुटा लान्छानाप्रति हाम्रो घोर अपत्ति छ र हामी यसको घोर भत्सना गर्दछौं,’’ विज्ञप्तिमा भनिएको छ ।
सहकारीको समस्या र समाधान विषयमा दोषी र कारबाहीको विषयमा मात्र चर्चा परिचर्चा र बहस भइरहँदा सहकारी पीडितको डुबेको रकम कसरी फिर्ता गर्ने या दुरुपयोग भएको बचत रकमको सुनिश्चितता कसरी गर्ने भन्ने विषयमा कुनै ठोस पहल कदम नभएको विज्ञप्तिमा समावेश गरिएको छ ।